वेवी सावर (गर्भाेत्सव) नमनाएकी मेरी आमा

  •   काभ्रे
  •   २८ बैशाख २०७८, मंगलवार
  •   खुल्ला खबर

विशेषतः आज आमाको मुख हेर्ने दिन मेरी आमालाई धेरै शुभकामना ।
सलाम छ आमा तपाईको साहस, धैर्यता र संघर्ष लाई. । जति ऋतु फेरिए पनि मेरी आमाको दुखका दिन कहिले फेरिएनन् । दुःख पछि सुख आउछ भनेजस्तो कहिले भएन । हुन बाँकी नै होला सायद । कति सहनशील मेरी आमा । जस्तोसुकै अवस्थामा पनि आफ्ना सन्तानलाई खुसी राख्न तयार रहने । रहरले हो की बाध्यता आमाका दुख ज्युँकात्युँ छ अझै पनि । आमा वास्तवमा धर्ती हुन्, जोसँग आफ्ना शाखा–सन्तानको पीडा, दुख, खुसी, गुनासो सबै कुरा ग्रहण गर्ने क्षमता हुन्छ । परिवारको न्यानोका लागि आमाले आफैलाई जलाउन सक्छिन् । परिवारको खुसीका लागि आमाले आफैलाई पगाल्न सक्छिन् । आजको दिन( मातातिर्थ औँसी) आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । हामीलाई जन्माउनु, हुर्काउनु जति महान् कष्ट मेरी आमाको जीवनमा कुनै कष्ट भएन होला।

अहिलेजस्तो खान लगाउन पाइदैन थियो, ममीले बेला बेला आफ्ना दुःख सेयर गर्नु हुन्छ । ममी गर्भवती हुँदा र सुत्केरी हुँदा गाउँका अलि हुने खाने ले कोदो र तिते फापरको रोटी ल्याइदिन्थे रे । त्यो पनि एउटा, तावाभरीको । अरुबेला त पाए खायो नखाए भोकै । त्यो एउटा रोटी पनि ममीले ७ टुक्रा बनाएर ७ दिनलाई पु¥याएर खानुहुन्थ्यो रे । कोही नभएको मौका पारेर । सायद त्यो अवस्थामा धेरै भोक लाग्थ्यो होला । खै त्यतिबेला हाम्रो बारी धेरै भएपनि उब्जनी हुँदैन थियो । सायद बस्तु पाल्न नसकेर मल पुग्दैन थियो होला । बेलुका एक÷एक मुठ्ठी भुटेको मकै खाएर सुत्नु हुन्थ्यो । बुबा एक मुठ्ठी भुटेर खाने मकै नभएर कहाँ हो कहाँ लिन पुग्नुहुन्थ्योे । बुबा मकै लिएर ३ ÷४ दिनमा घर आइपुग्नुहुन्थ्यो । यस्ता दुख कति हुन् कति । तर पनि कति नहडबडाइकन हामी ( छोराछोरीलाई) हुर्काउनु भयो । कति संघर्षशील मेरी आमा । असली जिन्दगी मैलेभन्दा धेरै मेरी आमाले चिन्नुभएको छ, बुझ्नुभएको छ , किनभने मैले त्यतिधेरै दुख को अनुभुति गर्न अझै पाएकी छैन ।


अहिलेजस्तो गर्भ रहेदेखी नै आराम गर्नु,फलफूल खानु भिटामिनयुक्त खानेकुरा खानु,मन लागेको खान पाउनु, लाउन पाउनु त्यो बेला सोचेँभन्दा परको कुरा हो । बिचरा कति गाह्रो थियो त्यो समय । कति पीडा भयो होला आराम गर्न, पेटभरी खान नपाउँदा तर अहिले पनि उत्तिकै तगडा देख्छु ।  
अहिले समयले धेरै ठूलो फड्को मारेको छ । सामाजिक रुपमा पनि धेरै कुरा परिवर्तन भएको छ । त्यो समयमा गर्भावस्थामा पेट ठूलो देखाएर बाहिरफेर हिड्नु भनेको समाजको लागि एकदमै नराम्रो कुरा हो । मानौँ कुनै पाप नै गरेजस्तो । कुरा काट्न सुरु भइहाल्ने । समय कालखण्डमा आउने अनेकौं रूपान्तरणझैँ आज हामीले मनाउन सुरु गरेको बेबी सावर पनि एउटा सांस्कृतिक रूपान्तरण हो । रूपान्तरण हुने क्रममा जुन चिजले बढी स्थान ग्रहण गर्छ अथवा ‘हाइलाइट’ हुन्छ, त्यसैमा सबैको ध्यान केन्द्रित हुन्छ ।

आउनुहोस् एकैछिन वेवी सावरका कुरा गरौँ
हाम्रो आफ्नै धर्म, संस्कृति र परम्परा छन् । हाम्रा संस्कृति र परम्परालाई जोगाउनु र पछ्याउनु हामी सबैको दायित्व हो । तर पछिल्लो समय बाहिरी देशको सिको गर्दै हामीले हाम्रा परम्परा र संस्कृतिलाई त विर्सदै छैनौँ? भन्ने प्रश्न पनि मेरो मनमा धेरै पटक आउने गर्दछ । हुन त समय संगै हामी चल्न सक्नुपर्छ र जान्नुपर्छ भन्ने हाम्रो मान्यता पनि हो तर त्यसो भन्दैमा हाम्रा संस्सार संकृति र परम्परालाई भुसुक्कै विर्सनु चाहिँ हुँदैन ।
पूर्वीय शास्त्रहरूले मानिसको गर्भधानदेखि श्राद्धसम्म १६ संस्कार गर्नुपर्ने उल्लेख गरेका छन् । परापूर्वकालदेखि प्रचलनमा रहेका यी संस्कारहरू ऋषिमुनिले विकास गरेको धार्मिक तथा सांस्कृतिक मान्यता छ । ती १६ संस्कारमध्ये मानिसको जन्मअघि नै तीन संस्कार पर्छन् । गर्भाधान संस्कार, पुंसवन संस्कार र सीमन्तोन्नयन संस्कार । यसमध्ये सीमन्तोन्नयन संस्कार गर्भाधानको आठौं महिनामा गरिने संस्कार हो । संस्कृतविद्हरूका अनुसार गर्भस्थ शिशुको स्वास्थ्य र आमाको प्रसन्नताका लागि यो संस्कार मनाउने गरिन्छ । जसमा यज्ञमा आहुती दिएर बचेको खिचडीमा घ्यु हालेर गर्भिणीले आफ्नो प्रतिबिम्ब हेर्नुपर्ने हुन्छ ।
पछि यो संस्कार परिस्कृत हुँदै लोकजीवनमा दही–चिउरा खुवाउने संस्कारका रूपमा विकास भयो । गर्भवती महिलालाई दही खुवाउँदा आमा र बच्चा दुवै स्वस्थ जन्मने मान्यताका साथ यो संस्कारले मान्यता पाएको थियो । अहिले भने दहीको साटो गर्भवती महिलालाई केक, फलफूल र मिठाई खुवाउने गरिन्छ । कतिपयले दही पनि खुवाउने गर्छन् । केक काट्ने धेरैलाई आफूले बेबी सावर बनाएको हो वा दही–चिउरा भन्ने प्रष्ट छैन । उनीहरू यसलाई दही–चिउराकै परिवर्तित संस्कारका रूपमा लिइरहेका छन् । अहिले रेस्टुराँ, पार्टी प्यालेस र घरमै पनि मदिरासहितको पार्टी गर्नेजस्ता कार्य गरेर गर्भावस्थाको सेलिब्रेसन गर्न थालिएको छ । यी सब कुरा देखिरहदा लाग्छ त्यो समयमा पनि मेरी आमाले यस्तै गरी खान पाएको भए आमा कति खुसी र निरोगी हुनुहुन्थ्यो होला । बिचरा मेरी आमालाई सुत्केरी बेथा लागेकै थाहा भएन होला । कसरी सेलिब्रेसन गर्नु वेवी सावर । सधै काममा व्यस्त हुँदा कामको भ्याइनभ्याई । थाहा होस् पनि कसरी।


अहिले गर्र्भाेत्सव अर्थात वेवी सावर ठूला ठूला पार्टी प्यालेसमा हुने गरेको छ । त्यसमा पनि प्रतिस्पर्धात्मक रुपमा । यदि घरमै वेवी सावर मनाइहाले पनि उस्तै भव्य देखिन्छ । गर्भ देखाएर फोटो सुट गर्ने, बच्चाको बुबालाई गर्भमा चुम्बन गर्न लगाउने र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने त ट्रेन नै चलेको छ । सहरी क्षेत्रमा बेबी सावरलाई जन्मोत्सव जत्तिकै महत्वका साथ मनाउन थालिएको छ । हुन त यी कुरा व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएलान् तर यसले हाम्रो संस्कृतिको मूल पक्षलाई लोप गराउन सक्छ । गर्भवती अवस्थामा महिलाले खुसी र पारिवारिक रूपले सुरक्षित महसुस गरून् भनेर गरिने यसप्रकारका संस्कृतिहरू हिजोआज प्रदर्शनका लागि झैँ भएका छन् । विभिन्न आकारको पेट छोएरै फोटो खिचाएर प्रदर्शन गर्नु सही कि गलत ? प्रश्नहरू यसरी पनि गर्न थालिएका छन । हेर्दा अलि अप्ठ्यारो लागे पनि आफ्नो अनुभूतिलाई कसरी प्रस्तुत गर्ने मानिसको नितान्त व्यक्तिगत कुरा हो ।


गर्भ लुकाएर राख्नुपर्ने कुरा होइन, प्रकृतिको सुन्दर सिर्जनालाई आत्मसात् गर्दै ‘सेलिब्रेसन’ गर्ने कुरा अवश्य हो । तर, बाहिरी रूपमा देखावटीभन्दा पनि सोच र वातावरणमा ध्यान दिनुपर्ने कुराहरू धेरै छन् । बच्चा जन्मिनु प्राकृतिक कुरा हो । विगतमा जुन रूपमा ए..यो के ठूलो कुरा हो र ? जस्तो गरी जसरी बेवास्ता गरिन्थ्यो, त्यति धेरै बेवास्ता गर्नुपर्ने कुरा होइन र अहिले जसरी योभन्दा ठूलो त संसारमा केही पनि छैन जस्तो गरिँदै छ त्यो पनि सही होइन । आफ्नो खासै योगदान नभएको प्राकृतिक कुरालाई असामान्य रूपमा लिएर अघि बढ्दा त्यो प्राकृतिकभन्दा बढी ‘आर्टिफिसियल’ देखिन्छ ।

नाचगान गर्ने र श्रीमानलाई श्रीमतीको गर्भमा चुम्बन गर्न लगाउने गरिन्छ । ती तस्बिरहरू आगन्तुकले सामाजिक सञ्जालमा राख्छन्  । र, अरूले पनि यसको नक्कल गर्न थाल्छन्। अझ केही सेलिब्रेटीहरूले यसो गर्दा त समाचार नै बन्ने गरेको छ । जसले गर्दा बेबी सावर परम्परा फेसनका रूपमा विकसित हुँदै गएको छ । सम्बन्धहरु कम्प्लिकेटेड हुँदै गएको पछि अहिले सामाजिक सञ्जालमा पोस्ट गरिएका गर्भका तस्बिरहरूले भविष्यमा सम्बन्ध बिग्रियो भने कस्तो खालको प्रभाव पार्छ होला ? फरक प्रकारको मनोवैज्ञानिक समस्या आइपर्न सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ । जुन समस्या पुरुषले भन्दा महिलाले नै बढी भोग्नुपर्ने हुन्छ । समाजमा देखाउनु, सन्तान जन्माउने भएँ भन्नु नराम्रो हो भन्न खोजेको होइन । तर, त्यसको नाममा उत्ताउलोपन हावी हुनु गलत छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेका हाम्रा संस्कारले विकृति–विसंगतिको रूप लिनु गलत हो । हामीले हाम्रो देश, परिवेश र समाज सुहाउँदो सस्कारको विकास तथा विस्तार गर्नुपर्छ । भएका संस्कारहरू पनि मासिँदै गएका छन् । त्यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

आमा भनेकी आस्था हुन् । आदर्श हुन् । विश्वास हुन् शक्तीशाली नारी हुन् ।सलाम छ आमा तपाईको साहस, धैर्यता र संघर्ष लाई ।
विशेषतः आज आमाको मुख हेर्ने दिन मेरी आमालाई धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

-->