डब्लुएचओले गर्यो कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के?

  •   काभ्रे
  •   १८ जेष्ठ २०७८, मंगलवार
  •   खुल्ला खबर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ ।

बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको डब्लुएचओले जनाएको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गरेको हो ।

भेरियन्टका नामहरुको पूर्ण सूचि डब्लुएचओले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको छ । नामसँग जोडिएर आउने कलंक वा धब्बा हटाउनका लागि नयाँ नामकरण प्रणालीको व्यवस्था गरिएको डब्लुएचओको भनाई छ ।

भारतले आफ्नो देशमा गएको अक्टोबरमा पहिलोपटक भेटिएको कोरोना भाइरसको बी.१.६१७.२ भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आपत्ति जनाएको थियो ।

तर डब्लुएचओले सो भेरियन्टलाई औपचारिक रुपमा भारतीय भेरियन्ट भनेको थिएन र पनि प्रयोगमा भने रहँदै आएको थियो ।

कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई कलंकित गर्न नहुने डब्लुएचओको कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले बताएकी छन् ।

उनले भेरियन्टमाथिको अनुगमन बटाउनु पर्ने र संक्रमण रोक्नका लागि वैज्ञानिक तथ्यहरु साझा गरिनु पर्ने पनि बताएकी छन् ।

नयाँ नामहरुले वैज्ञानिक नामलाई प्रतिस्थापित भने गर्ने छैनन् । सार्वजनिक रुपमा सहज प्रयोगका लागि नामाकरण गरिएको डब्लुएचओले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *