ओलीको ‘गोयवल्स’ नीति

  •   काभ्रे
  •   २७ जेष्ठ २०७८, बिहीबार
  •   खुल्ला खबर

पाउल जोसेफ गोयवल्स (१८९७–१९४५) जर्मनका तानाशाही शासक एडोल्फ हिटलरका विश्वासी पात्र थिए । उनले १९२१ मा हिडेल्वर्ग विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेपछि १९२४ देखि हिटलर नेतृत्वको नाजी (नेशनल सोशलिस्ट) पार्टीमा प्रवेश गरेका थिए । प्रारम्भमा उनले बर्लिन जिल्लाको नेतृत्व गर्ने जिम्मा पाए । राम्रो पढेलेखेका र सार्वजनिक भाषण कलामा निपुण गोयवल्स त्यतिमा मात्र सीमित रहेनन् । हिटलरको ईच्छा मुताविक उनी एक दिनको लागि जर्मनको चान्सलर समेत बने ।

दोश्रो विश्वयुद्धको अन्तिमतिर आईपुग्दा लगभग जर्मनी सेनाहरुले हार स्वीकार गरीसकेका थिए । रसियन सेनाले बर्लिन शहर घेरीसकेको थियो । जर्मनी सेनाहरुले अब युद्ध लड्न नसक्ने र हिटलरलाई बर्लिन छाडेर भाग्न सल्लाह दिईरहेका थिए । तर हिटलरले बर्लिन छोड्न अस्विकार गरे । उनले भने, “म आफ्नो देश छोडेर काहीं जान्न । शत्रुको अगाडि शिर झुकाउँदैन बरु शिर काटिन तयार छु ।” सेना तथा उनका वरिष्ठ अधिकारीहरुले साथ दिन छाडेपछि हिटलरले बर्लिन छाडेर भाग्नु भन्दा आत्महत्या गर्ने मनस्थिति बनाए ।

आत्महत्या गर्नुअघि हिटलरले आफ्नो प्रेमिका इभा ब्राउनसंग विवाह गरेका थिए । ब्राउन लामो समय उनको सहयोगीको साथै मन्त्री समेत थिईन् । हिटलरको विवाह संसारकै रोचक मध्येको थियो । उनले आत्महत्या गर्ने निश्चित भएपछि मात्र पे्रमिका ब्राउनलाई सोधेका थिए, “इभा तिमिलाई थाह छ ? मैले अहिलेसम्म किन विहे नगरेको ?” ब्राउनले थाह नभएको बताईन । त्यसपछि हिटलरले भनेका थिए, “मेरो पहिलो प्रेम मुलुकलाई थियो–जर्मनी । म तिमिलाई सौता बनाउन चाहँदैन थिए ।”

मर्नुभन्दा दुईदिनअघि हिटलरले भावुक हुदैं सोधे, “इभा तिमि मसंग विवाह गर्छौ ?” इभाले हुन्छ भनेपछि उनीहरुले बंकरभित्रै विवाह गरेका थिए । हिटलरले बचेखुचेका आफ्ना सेनाहरुसंग अन्तिम भेट गरी आफ्नो लासलाई जलाईदिनु भन्ने आदेश दिएका थिए । जवकि शत्रुहरुले उनको लास छुन नपाओस् । त्यस लगत्तै आफ्ना विश्वासी पात्र डा.गोयवल्सलाई जर्मनको चान्सलर नियुक्ती गर्दै बंकरभित्रको आफ्नो कोठामा आत्महत्या गर्न छिरेका थिए । पहिला इभालाई साईनाइड नामक विष खुवाएपछि हिटलरले आफ्नो टाउकोमा आफैले गोली हानेर आत्महत्या गरेका थिए । विवाह गरेको करिब दुई दिनपछि ३० अप्रिल १९४५ मा उनीहरुले आत्महत्या गरेको सर इयान केर्श्वद्वारा लिखित ‘द इन्ड ः हिटलर्स जर्मनी १९४४–४५’ नामक कितावमा उल्लेख छ ।

डा.गोयवल्स जर्मनको एक दिनको मात्र चान्सलर बने । हिटलरले आत्महत्या गरेको २४ घण्टा नबित्दै उनले आफ्ना छ जना सन्तानहरुलाई विष खुवाएर मारे र उनका श्रीमती र गोयवल्सले पनि हिटलरकै बंकरभित्र आत्महत्या गरेका थिए । यसरी दोश्रो विश्व युद्धको समाप्तिसंगै जर्मनको एक तानाशाही नाजी शासनको अन्त्य भएको थियो । तर अहिले पनि केही त्यस्तो प्रसंगमा गोयवल्सको नाम हामी लिईरहेका हुन्छौं । विषेश गरी प्रेस जगतमा । आखिर किन उनको नाम लिईरन्छन् त ? के–के गरेका थिए उनले आफ्नो कार्यकालमा ?

गोयवल्स १९३३ देखि १९४५ सम्म जर्मनको प्रचार मन्त्री (रिच मिनिस्टर अफ् प्रोपागाण्ड) भएका थिए । उनको काम नाजी पार्टी र नाजी सरकारको उद्देश्य र कार्यक्रमहरु जर्मनी जनताका माझ प्रेसित गर्नु थियो । जर्मनमा नाजी पार्टीलाई चाँडै उत्कर्षमा पु¥याउन प्रचारप्रशार संयन्त्रले ठुलो भुमिका खेलेको थियो । भाषण र पर्चाहरु बाँडेर जर्मनीका जनतालाई नाजी पार्टीको उद्देश्यहरुबारे सूसुचित र कन्भिन्स गर्ने गरिन्थ्यो । हिटलरको पनि आकर्षक व्यक्तित्व र उत्तेजक भाषणले त्यहाँका जनताहरुलाई आकर्षण गर्थ्यो ।

त्यस्तै प्रचारप्रशारको जिम्मा पाएका गोयवल्सको पनि जनतालाई आकर्षण गर्ने आफ्नै खालको खुवी थियो । उनी सार्वजनिक भाषण कलामा निपुण थिए । उक्त पार्टीको ‘नेशनल’ शब्दले त्यहाँका रुढीवादी र राष्ट्रवादीहरुलाई प्रभावित ग¥यो । किनभने पहिलो विश्वयुद्ध पश्चात भर्सायको सन्धि अनुसार जर्मनले धेरै भुभाग गुमाउनु परेको थियो र जर्मनीहरु उक्त भुभाग फिर्ता गर्न चाहन्थे । पहिलो विश्वयुद्ध पश्चात जर्मनले राष्ट्रिय अपमानको अनुभूती गरीरहेको थियो । हिटलरले नाजी दलको सरकार बनेमा उक्त भर्सायको सन्धि टुक्रा–टुक्रा गर्ने र जर्मनीलाई युरोपको महान राष्ट्रमा परिणत गरी अन्तराष्ट्रिय गौरव प्रदान गराउने घोषणा गरेका थिए । जसबाट त्यहाँका राष्ट्रवादीहरु अत्यन्त प्रभावित भएका थिए । यो अभियानमा गोयवल्स हिटलरको नजिकको सहकर्मी थिए ।

त्यसै गरी ‘सोशलिस्ट’ शब्दले मजदुर र गरीवहरुलाई प्रभावित बनाए । पहिलो विश्वयुद्धबाट जर्मनको अर्थतन्त्र नराम्ररी थलिएको थियो । जसको कारण त्यहाँ धेरै बेरोजगारीहरु थिए । मजदुर र गरीवहरुको अवस्था दयनीय थियो । यस्तो परिस्थितिमा हिटलरलाई आफ्नो तानाशाही शासन सञ्चालन गर्न अनुकुल वातावरण निर्माण भएको थियो ।

नाजी सरकारले गरेको सम्पूर्ण कार्यहरु बारे जनतालाई सूसुचित गर्ने दायित्व प्रपोगाण्ड मन्त्री गोयवल्सको थियो । राज्यको कतिपय गलत कार्यहरुलाई सत्य सावित गर्न उनले अनेक उपायहरु लाउथे । सबै नीतिहरु साम, दाम, दण्ड, भेद अवलम्वन गथ्र्यो । एउटै तर्क र कुरालाई सयौ पटक दोहो¥याएर भएपनि जनमानसलाई विश्वस्त पार्ने प्रयत्न गथ्र्यो । त्यस्तो प्रवृतिलाई ‘गोयवल्स नीति’ भन्ने गरिन्छ ।

अब प्रसंग जोडौं हाम्रा प्रधानमन्त्री के.पी.ओलीको । ओली पनि सार्वजनिक भाषण कलामा गोयवल्स भन्दा कम देखिदैन । २०७४ को निर्वाचनअघि भारत विरोधी चर्को भाषण गरेर राष्ट्रवादीको पगरी गुँथेका थिए ओलीले । जसले सोझासिधा जनतालाई केही प्रभाव पनि पा¥यो । राष्ट्रवादी नेता ओली मात्र रहेछ भन्ने भान प¥यो । किनभने अरु नेताहरु त्यस्तो उत्तेजित भाषण गर्दैनथे । ‘समृद्ध नेपाल, सुखि नेपाली’ को रटान लगाईरह्यो । राजनीतिक स्थायित्वको गफ लगाएका थिए । यसले २२ प्रतिशत भन्दा बढी गरीबीको रेखामुनी रहेका नेपालीहरुलाई प्रभावित बनायो । निर्वाचनको नतिजा पनि ओलीकै पक्षमा आयो ।

ओली सत्तासीन हुनेबित्तिकै राज्यको महत्वपूर्ण निकायहरुलाई आफु मातहात ल्याएर शक्ति केन्द्रित गर्ने तर्फ अघि बढे । उदाहरणको लागि ओलीले विभिन्न मन्त्रालय अन्तर्गत रहेका महत्वपूर्ण ११ वटा निकायहरुलाई आफू मातहात ल्याएका थिए । जसमा महान्यायधिवक्ताको कार्यालय, राष्ट्रिय अनुशन्धान विभाग, सम्पत्ति सुद्धिकारण आयोग, राजश्व विभाग, योजना आयोग, राष्ट्रिय विकास परिषद, लगानी बोर्ड, संबैधानिक परिषद, गरीबी निवारण कोष लगाएत हुन् ।

ओली सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर सञ्चार क्षेत्रलाई राज्य नियन्त्रित बनाउने प्रयास ग¥यो । प्रपोगान्ड(सञ्चार) मन्त्रीमा हिटलारले झै ओलीले आफ्नै विश्वासी पात्र गोगुल बास्कोटालाई नियुक्त गरेका थिए । उनी सरकारको आलोचना गर्नेहरुमाथि निर्मम ढंगले प्रस्तुत हुन्थे । सरकारले गरेको जस्तोसुकै कार्यलाई पनि जनतासामु सही छ भनेर बोलिदिनुपर्ने मन्त्रीहरुको काम हुन्थ्यो । यहि क्रममा चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलनरत डा. गोविन्द केसीको मागलाई निष्प्रभावी बनाउन सार्वजनिक ठाउँमा विवादित भाषण गर्दा तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङले राजीनामा नै दिनुप¥यो ।

चर्का राष्ट्रवादी, समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सत्तासीन भएका ओली दिनानुदिन अलोकप्रिय बन्दै गयो । एकपछि अर्को गलत कार्यमा फस्दै गयो । गुठी विधेयक फिर्ता नै गर्नु प¥यो । पहिलो कोरनाको लहरबिच ल्याएको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेशको चौतर्फी विरोधपछि त्यो पनि फिर्ता नै गर्नु प¥यो । ओलीका गोयवल्सहरुले जति टालटुल गरेपनि टार्न सकेनन् ।

त्यो बिचको अवधिमा गरेका धेरै कुराहरुलाई छाडौ । पछिल्लो चरण पार्टीभित्रको अन्तरसंघर्ष झाँगिदै गएपछि ओलीले आफ्नै पार्टीका सांसदहरुको पनि विश्वास गुमाए । संसदमा अविश्वासको प्रस्ताव नै दर्ता गर्ने भेउ पाएपछि ओलीले २०७७ पुस ५ गते असंवैधानिक ढंगबाट संसद विघटन गरे । त्यो कदमलाई जनताकोमाझ सही पुष्टी गर्न उनले कुनै हर्कत बाँकी राखेनन् । गोयवल्सकै शैलीमा ठुलठुला सभाहरु गरेर त्यसलाई पुष्ट्याई गर्ने प्रयत्न गरे । गोयवल्सहरुले जतिसुकै टालटुल र रफ्फु भरेपनि अदालतले त्यो कदम असंवैधानिक ठहर ग¥यो ।

शुरुमा करिव दुई तिहाईको प्रधानमन्त्री बनेका ओलीले गत वैशाख २७ गते संसदबाट विश्वासको मत लिन सकेनन् । त्यसपछि उनी संविधानको धारा ७६(३) अन्तर्गतको प्रधानमन्त्रीमा नियुक्ती भए । यसरी नियुत्ती भएका प्रधानमन्त्रीले संविधानतः एक महिनमभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके स्वतः पदुमुक्त हुन्छ । तर ओलीले त्यसो गरेनन् । एक्कासी धारा ७६(५) को प्रक्रियामा जान शिफारिस गरे । र राष्ट्रपतिसंग तानावाना मिलाएर फेरी आफै प्रधानमन्त्री बन्ने, संसद पुनः विघटन गर्ने र चुनाव घोषणा गर्ने जस्ता असंवैधानिक ताण्डव मच्चाए । त्यतिमात्र होईन, नागरिकता सम्बन्धि विवादस्पद् अध्यादेश जारी गरे, मन्त्रीमण्डल पुनर्गठन गरे । जसले गर्दा ओलीको राष्ट्रवादको मुकुण्डो पर्दाफास भयो ।

यस्ता राष्ट्रघाती र गैरसंवैधानिक कार्यलाई जनताको सामु ठिक छ भन्ने सन्देश दिनको लागि अहिले ओली दिन विराएर राष्ट्रको नाममा सम्बोधन गर्ने गर्छन । दिनहु पत्रकार सम्मेलन गर्छन र आफ्नो कदमलाई सही पुष्टी गर्ने प्रयत्न गरीरहेका छन् । गोयवल्सहरु लगाएर रफ्फु भर्ने काम गरीरहेका छन् ।

लेखक दिनेश लामा नेपाली काँग्रेस काभ्रेका सचिव हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *