अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिइनुपर्छ: राष्ट्रपति भण्डारी

  •   काभ्रे
  •   २८ भाद्र २०७८, सोमबार
  •   खुल्ला खबर

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षाले अनुसन्धानमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याएकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति तथा पदाधिकारीसँगको भेटका अवसरमा राष्ट्रपतिले विज्ञान र प्रविधिले ल्याएको विश्वव्यापी परिवर्तनका कारण हाम्रा आवश्यकता र समस्या पनि रूपान्तरण भइरहेको सन्दर्भमा परिवर्तनको यो वेगलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने चुनौती रहेको बनाइन्।

उनले समयको यस रूपान्तरणकारी गतिलाई पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने जनशक्ति हामीले कति उत्पादन गर्न सक्यौँ भन्ने कुराले हाम्रा सफलता वा असफलताको मापन गर्ने उल्लेख गरिन्।

उनले इतिहास र सभ्यताको यस बिरासतबाट प्रेरणा लिँदै हाम्रा विश्वविद्यालयले आफूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले आर्थिक उन्नतिका दृष्टिले दुई उदयमान छिमेकी देशहरुको बीचमा नेपाल अवस्थित रहेको हुनाले हामीले उत्पादन गर्ने जनशक्ति पनि यी छिमेकीसँगसँगै अगाडि बढ्ने किसिमको हुनु जरुरी रहेको बताइन ।

सामाजिक आर्थिक विकास प्रक्रियालाई तीव्रता दिइरहँदा राष्ट्रिय सुरक्षा, देश प्रेम र राष्ट्रियताको भावनालाई अभिवृद्धि गर्ने विषयमा विश्वविद्यालयले ठोस योगदान गर्न सक्ने उल्लेख गर्दै उनले यसका लागि सरकारका नीति निर्णय गर्ने निकाय र विश्वविद्यालयका बीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताइन्।

मुलुकमा विश्वविद्यालयको सङ्ख्या बढिरहेको सन्दर्भमा विश्वविद्यालयबीच आवश्यक समन्वय र सहकार्य अभिवृद्धि हुन सके प्राज्ञिक उन्नयनमा मद्दत पुग्ने लागेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *