अझै सबै तामाङको घरभित्र छिर्न सकेन ल्होछार पर्व: गुणराज मुक्तान

  •   काठमाडौं
  •   ३ फाल्गुन २०७७, सोमबार
  •   खुल्ला खबर

काभ्रे: यस वर्ष पनि २८५७ (लाङ ल्हो) सोनाम ल्होछार विगतको वर्षहरु झैँ विभिन्न कार्यक्रम गरेर मनाईएको छ । ल्होछार पर्वसँग जोडिएका विभिन्न कार्यक्रमलाई नियाल्ने हो भने एक दिन आफ्नो मौलिक भेषभुषा लगाएर टुँडिखेल जाने, विभिन्न स्थलमा ल्होछारको नाममा आयोजना गरिएको विभिन्न कार्यक्रमहरुमा जाने, नाच्ने, गाउँने, सेल्फी खिच्ने रमाईलो गर्ने, भाषण गर्ने पर्वको रुपमा मात्र सिमित हुन पुगेको छ ।

नेपालको आदिवासी तामाङ जातीले ल्होछार मनाउने यसरी नै हो त ? ल्होछारको नाममा विभिन्न राजनैतिक दलले कार्यक्रम आयोजना गर्ने र साँस्कृतिक भन्दा राजनैतिक भाषण गर्ने प्रचलन पनि पछिल्लो दिनमा बढ्दै गएको छ । एक दिन टुँडीखेलमा जम्मा भएर भाषण गर्दैमा, एक दिन तामाङ गोईलो (पोषाक) लगाएर फोटो खिचेर फेसबुकमा राख्दैमा, ल्होछारको नाममा सार्वजनिक स्थलमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दैमा हिजो एकल जातिय हिन्दु राज्य सत्ताले समाप्त पारेको तामाङ जातिको मौलिक पर्व ल्होछारले पूनर्जीवन पाउँछ त ? किमार्थ सम्भव छैन । यसो हुनुको पछाडी विभिन्न राजनैतिक घटनाक्रमले महत्वपूर्ण भूमिका खेलेको छ ।

ल्होछार पर्व आदिवासी तामाङ लगायतका जनजातिहरुको मौलिक पर्व हो । नेपालको एतिहासिक र राजनैतिक परिवर्तनले यस्ता मौलिक पर्वहरुलाई समाप्त पार्ने, खोजी गर्ने र पूर्नजागरण गर्ने कामहरु गर्दै आज यहाँ सम्म आईपुगेको छ ।

मुख्यत: २०४६ सालको राजनैतिक परिर्वतन पछि यो पर्वको अस्तित्व खोजियो, आदिवासी जनजातिको राजनैतिक र सांस्कृतिक अधिकार माथि बहस चलाइयो र २०५१ सालमा आएर ल्होछार पर्वलाई एक दिन विदा दिएर राज्यले पहिचान दिने कार्य गर्यो । लामो समय पछि यो ल्होछार पर्वले राष्ट्रिय पर्वको मान्यता पायो । तामाङ जातिले ल्होछार पर्व मनाउने शुरुवातलाई सांस्कृतिक पुनर्जागरणको रुपमा लिईएको छ ।

२०४६ सालको परिवर्तन पश्चात नै ल्होछार सम्बन्धी, लेख लेख्ने, पर्चा छाप्ने, पाठ्यपुस्तकमा समावेश गर्ने, विभिन्न प्रचार प्रसारको कार्यक्रमहरु सञ्चालन गर्ने र यस विषयमा प्रज्ञिक बहसहरुको थालनी गर्ने जस्ता कार्यबाट आम तामाङ समुदायमा र तामाङ जातीको मन मस्तिष्कमा ल्होछार पर्व तामाङ जातिको मुख्य र मौलिक पर्व हो भन्ने चेतनाको जागृत गराएको छ । जसको कारण तामाङ जाती लगायतको आदिवासी जनजातिहरुलाई हामी त एकल हिन्दु राज्यद्धारा लादिएको विभिन्न पर्वहरुमा पो रमाएर बसेका रहेछौँ हाम्रो मौलिक पर्व त ल्होछार पो रहेछ भन्ने महशुस गरायो ।

तामाङ जातिले कहिले देखि ल्होछार मानाउन शुरु गरे त भन्ने कुनै यकिन तथ्य नभेटाए ता पनि तामाङ जाति समुदायको सभ्यताको विकास सँगै यो पर्वको शुरुवात भएको केहि अध्ययनले देखाएको छ । ल्हो परम्परा तामाङ जातिको सभ्यता सँगै जोडिएको परम्परा हो । तामाङ संस्कृतिमा ल्हो को आधारमा जन्म देखि मृत्यू सम्मको सबै कर्म गरिन्छ । ल्होछार पर्व नेपालमा मात्र र तामाङ जातीमा मात्र नभई संसार भरीको मंगोल समुदायको प्रमुख पर्व हो । ल्होछार तामाङ जातीको पहिचानसँग मात्र जोडिएको पर्व होइन यो मानव जीवन र जीवन पद्धतिसँग गाँसिएको छ ।

ल्हो अर्थात वर्ष परिवर्तन सँगै धेरै कुराहरुको परिवर्तनको थालनी ल्होछार सँग जोडिएको छ । ल्होछारको दिनबाट बसन्त ऋतु शुरु हुने हुँदा कृषकहरुको लागि छुट्टै महत्व रहेको छ । ल्होछार सँगै प्रकृतिमा पालुवा फेरिने मात्र होइन पशुपंक्षीमा प्रजनन प्रकृया शुरु हुन्छ र श्रृष्टिको निरन्तरता हुन्छ । कृषि कर्ममा कुन समयमा कुन खेतीपाती लगाउने र कुन कुन समयमा कुन कुन बालीको राम्रो उत्पादन हुन्छ र कुन बालीको उत्पादन राम्रो हुँदैन भन्ने ल्होको आधारमा हेरेर बाली लगाउने परम्परा र विश्वास तामाङ समुदायमा रहेको छ ।

ल्होछार सँगै बालबालिकाको शिक्षा पनि जोडिएको छ । ल्होछारको पाँचौदिनमा बसन्त पञ्चमी पर्ने भएकोले बालबालिकाको शिक्षाको शुभारम्भ गर्ने परम्परा नेपाली समाज र संस्कृतिमा पाइन्छ । जीवन पद्धतिसँग जोडिएको यति महत्वपूर्ण पर्व किन ओझेलमा परे ? राज्यले किन लामो समय सम्म राष्ट्रिय पर्वको रुपमा मान्यता दिन सकेन ?

यो प्रश्नको उत्तर खोज्न आजको समाज र राजनैतिक व्यवस्थाको पृष्ठभूमी केलाउनु जरुरी छ । नेपाल देशको एकिकरणको नाममा गोर्खा राज्य विस्तार गर्ने क्रममा थुप्रै तामाङ राज्यहरु ध्वस्त गरियो त्यो सँगै तामाङ जातिको संस्कृति, भाषा, भेषभुषा र पर्वहरु समाप्त गरि एकल जातिय हिन्दु राज्य स्थापना भयो र तामाङ जातिको मौलिक संस्कृति र पर्वहरु लोप हुन पुगे । राज्यले काँही कतै पहिचान र अस्तित्व दिएन ।

एक धर्म, एक भाषा, एक भेष र एक संस्कृति नै नेपालको पहिचान बनाउँदै हिन्दु धर्म, नेपाली भाषा र हिन्दु धर्मद्धारा निर्देशित संस्कार र संस्कृति नै नेपालको सबै जातजाती र भाषा भाषीले मनाउन बाध्य पारियो । जसको कारण नेपालको मुलवासी आदिवासी जनजातिहरुको मौलिक भाषा, धर्म, संस्कृति, पर्व र भेषभुषाहरुले अस्तित्व गुमाउन पुगे र आज आफ्नोे मौलिक पर्व ल्होछार टुँडीखेलबाट गाउँवस्तिको सभा समारोह हुँदै घरघरमा प्रवेश गराउने जमर्को गरिरहेको छ तर अझै सबै तामाङ जातीको घर भित्र प्रवेश गर्न सकेको छैन ल्होछार पर्व ।

आदिवासी जनजाति आन्दोलनको कारण ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार्न सरकारलाई बाध्य त बनायो तर समानताको आधारमा सांस्कृतिक अस्तित्व प्रदान गर्न सकेन । दशैँ मनाउनको निम्ति सरकारले पर्याप्त विदा दिए जसरी ल्होछार मनाउन विदा दिएन ।

दशैँ मनाउन कर्मचारीहरुलाई दशैँ खर्च उपलब्ध गराए जसरी ल्होछार मनाउन कर्मचारीलाई एक रुपैँया पनि थप पैसा दिएन । दशैँमा उपलब्ध गराउने अफरहरु कुनै पनि कम्पनिले ल्होछारमा उपलब्ध गराएन । त्यसैले सरकारले नरुचाई नरुचाई दिएको एक दिन विदा नाचेर, भाषण गरेर, तामाङ गोईलो लगाएर फेसबुकमा फोटो राखेर नै सकियो ।

ल्होछार आयो भनेर शहरबाट घर जान पुग्ने विदा दिएन सरकारले । ल्होछार आयो भने मावली शसुराली गएर आर्शिवाद थाप्न पुग्ने विदा दिएन सरकारले । ल्होछारमा खर्च गर्ने पैसा दिएन अफिसले। त्यसैले सबै तामाङ जातिको घरभित्र प्रवेश गर्न कठिन भयो हाम्रो ल्होछार । सांस्कृतिक सम्वृद्धि विना मुलुकको सम्वृद्धि कान्तिहिन र अस्तित्व विहिन हुन्छ । राष्ट्रको पहिचान भनेको नै संस्कृति र चाडपर्व हुन । विविध जातीको संस्कृति मिलेर नेपालको संस्कृति जोगिन्छ ।

नेपालको विविधता र विशिष्टताको आधारमा सांस्कृतिक पहिचान र अस्तित्वको लागि सरकारले सार्वजनिक विदा दिने स्पश्ट नीति सार्वजनिक विदा नीति ल्याउनु पर्दछ । मुख्य सवाल भनेको राज्यले सबै संस्कृतिलाई समान मान्यता र हैसियत दिने कि नदिने भन्ने हो । सबै जातीको पर्वहरुलाई सावजनिक विदा दिँदा काम गर्ने दिन भन्दा विदा बढि हुन्छ भन्ने कुरा पनि आउन सक्छ ।

यहाँ सवाल समानता र सामाजिक न्यायको हो । नेपालमा विक्रम संवत् अनुसारको नयाँ वर्षलाई मात्र नयाँ वर्षको मान्यता दिएको छ । नेपालमा नेपाल संवत्, किराँत सम्वत्, तामाङ मञ्जुश्री सम्वत्, तिब्बती सम्वत्, बुद्ध संवत् लगायत गेगोरिय सम्वत् पनि चलचल्तिमा छ ।

सबै सम्बतहरुलाई राष्ट्रिय मान्यता दिनु पर्छ र दिन सकिन्छ । सबै जातजातिको मुल पर्व मान्नको लागि पर्याप्त विदा र राज्यको तर्फबाट प्रोत्साहित गर्नु पर्दछ । यसको उपाय भनेको दशैँ नमान्ने समुदायका कर्मचारीहरुलाई किन दशैँको विदा र दशैँ खर्च दिनु पर्यो ? मुल पर्व मान्नको लागि सबै कर्मचारीहरुलाई ५ देखि १० दिन विदा उपलब्ध गराउने र आफ्नो जाति धर्म सस्कृति अनुसारको पर्वमा विदा उपभोग गर्ने व्यवस्था गर्न सकिन्न र ?

त्यो विदा तामाङ जातिले ल्होछरमा उपभोग गर्ला , दशैँ खर्च भनेर दिने थप एक महिनाको तलब ल्होछारमा खर्च गर्ला ? मगर समुदायले माघीमा खर्च गर्ला सँग सँगै प्रत्येक जातीले आप्mनो मुल पर्वमा त्यो विदा र रकमको उपभोग गरि आफ्नो संस्कृति अनुसारको पर्व मनाउनेछ । यसरी नै प्रत्येक जातीको मुख्य पर्वलाई राज्यले नीति बनाएर प्रोत्साहन गर्नु पर्दछ अनिमात्र साँच्चिकै सांस्कृतिक पुर्नजागरण सम्भव छ । नत्र राज्य सत्तामा जुन जातीको हालीमुहाली चल्छ उसैको संस्कार सस्कृति लाद्ने चलनले निरन्तरता पाउनेछ ।

सबै धर्म सँस्कृतिलाई समान र सम्मान्जनक स्थान दिएर जनतालाई साँस्कृतिक समानताको अनुभूति दिलाउन सके मात्र संघिय लोकतान्त्रिक गणतन्त्रको अनुभूति हुने छ ।

लेखक: गुणराज मुक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

-->